सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी स्वीकार नभएको बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई फरक ढंगले प्रयोग गरिएको बताएका हुन् । उनका अनुसार गणतन्त्र ल्याउने अभियानमा सक्रिय युवासमेत भड्काइएका कारण अप्रिय घटना भएका हुन् । संघीय राजधानी काठमाडौंमा घटेका अप्रिय घटनाको असर कर्णालीमा समेत देखिएको उनले बताए ।
कँडेलका अनुसार कर्णाली प्रदेशसभामा सबैभन्दा बढी क्षति भएको छ । सिंहदरबार, संसद भवन र शितल निवासजस्ता ऐतिहासिक संरचनामा भएको तोडफोडपछि कर्णालीमा पनि सुरक्षा प्रणाली कमजोर भएको र आफूलाई कपासेस्थित सेनाको ब्यारेकमा बस्नुपरेको उनले जानकारी दिए । कँडेलले व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलन भड्काइएको आरोप लगाउँदै जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायमार्फत सजाय दिने प्रावधान रहेको बताए ।
मुख्यमन्त्री कँडेलले प्रदेश सभादेखि लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, प्रमुख दलका कार्यालय र नेताहरूको घरसम्म क्षति पुगेको बताए । सुरक्षा चुनौतीका कारण आफू सेनाको ब्यारेकमा बस्नुपरेको जानकारी दिँदै उनले व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलन उक्साइएको आरोप लगाए । गल्ती गर्ने जनप्रतिनिधिलाई कानुनी प्रक्रियामार्फत सजाय दिने प्रावधान छ, आगजनी र तोडफोड स्वीकार्य नभएको उनले बताए । मुख्यमन्त्रीले सबै क्षतिग्रस्त स्थानको अनुगमन गरिसकेको उल्लेख गर्दै बजेट कार्यान्वयनका काम निरन्तर अघि बढाउन मातहतका कार्यालयहरूलाई निर्देशन दिएका छन् ।






